वरिष्ठ साहित्यकार प्रश्रितद्वारा ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन

काठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक बिमोचन गरेका हुन् ।

६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण पे्रमीका योगदानहरु उल्लेख छन् । उनी पत्रकारीतामा समेत सक्रिय थिए । पुस्तकमा प्रेमीलाई चिन्ने चिरपरिचत व्यक्तिहरुको लेख तथा कविताहरु संकलित छन् ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले प्रेम नारायण प्रेमीको योगदानको चर्चा गरे । उनले प्रेमीको योगदानबारे लेखिएका लेखहरुको प्रशंशा गरे । जीवनका सबै पक्षलाई रेकर्ड राख्ने गरी लेखिएको बताए ।

प्राध्यापक तथा वरिष्ठ समालोचक राजेन्द्र सुबेदीले पुस्तकले प्रेमनारायण प्रेमीको योगदानका अलावा इतिहासको विषयवस्तु समेत समावेश गरेको बताए । प्रेमीमा केन्द्रित रही फरक लेखकहरुबाट विश्लेषणहरु भएको बताए । कविताहरु पनि पुस्तकमा हुनु सकारात्मक पक्ष रहेको उनको भनाई थियो ।

नेकपा नेता पेशल खतिवडाको कार्यक्रममा नेकपाका नेताहरु नानीबाबु बुढाथोकी, बाबुराम गौतम, पत्रकार चेतनाथ धमला, पे्रमीकी छोरी सम्झना प्रेमी लगायतले बोलका थिए ।

वि.स १९९७ मंसिर ९ गते बुवा गणेशमान कटवाल र आमा कृष्णकुमारी कटवालको कोखबाट कुडुले ओखलढुंगामा जन्मेका प्रेमीको २०७५ मंसिर ७ गते निधन भएको थियो । उनका चार छोरी र एक छोरा छन् । वास्तविक नाम प्रेमबहादुर कटवालबाट उनी पछि प्रेमनारायण प्रेमीको नामले चिनिएका थिए ।

कटवलले त्रिचन्द्र कलेजबाट २०१३ सालमा आइएसी सम्मको अध्ययन गरेका थिए । उनले सिभिल इन्जिनियर (डिप) र बिएचएम (होमियोप्याथिक) (२०१५–२०२०)मा भारतमा गरेका थिए ।

प्रेमनारायण प्रेमीद्वारा रचित रगत पसिना र आँसु नाटकसंग्रह, नओथारिएका चल्लाहरु कविता संग्रह तथा प्रेमीको जीवनयात्रा जीवनीसंग्रहहरु बजारमा आइसकेका छन् । आज विमोचन भएको पुस्तकमा १८६ वटा लेखहरु रहेका छन् ।

उक्त पुस्तकलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला संगठन कमिटी ओखलढुंगाले प्रेमनारायण प्रेमी स्मृतिग्रन्थ प्रकाशन समितिले प्रकाशन गरेको छ । पुस्तकलाई पेशल खतिवडा, बाबुराम गौतम, नेत्रप्रसाद भट्टराई र केदार सापकोटाले सम्पादन गरेका छन् । कार्यकारी सम्पादकमा चेतनाथ धमला रहेका छन् ।

पुस्तकलाई व्यक्तिगत रुपमा ६ सय रुपैयाँ र संस्थागत रुपमा ११ सय रुपैयाँ मुल्य तोकिएको छ ।

दिवंगत प्रेमीप्रति भावपुर्ण श्रद्धान्जलि दिदै स्मृति ग्रन्थको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

त्यस्तै, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि राजनिति, साहित्य र समाजसेवामा उनको योगदानको स्मरण गर्दै पुस्तकलाई शुभकामना दिएका छन् ।

पुस्तकमा नेकपाका नेता वामदेब गौतम, सी.पी मैनाली, राधाकृष्ण मैनाली, राम कार्की लगायत नेताहरुको लेख समावेश छन् ।

Loading...