रहस्यमय मृत्यु भएका नेकपा नेता वाग्लेको शव मेडिकल प्रयोगका लागि क्यान्सर अस्पताललाई दिइयो

काठमाडौं । बुधवार रहस्मय तरिकाले सवारी दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराम वाग्लेको शव वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानलाई दिइएको छ ।

वाग्लेले मृत्युपश्चात आफ्नो मृत शरिर मेडिकल अध्ययनका लागि धरान स्थित क्यान्सर अस्पताललाई दिन सहमति जनाएका थिए । उनको सोही इच्छा र जिवितै छँदा गरेको सहमति अनुसार वाग्लेका परिवारले बिहीबार शवलाई धरान पठाएका हुन ।

स्वर्गीय वाग्लेको शव धरान लानु अघि नेकपा सर्लाहीले लालबन्दीमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । २०४५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका वाग्ले २०४९ सालमा पार्टीको जिल्ला सचिव, २०५२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, २०६४सालमा पार्टीको केन्द्रीय सदस्य भएका थिए । हाल उनी प्रचण्ड माधव नेपालको पक्षमा लागेका थिए । बुधवार पनि उनी पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भई घर फर्केका थिए । उनको शव एकाएक सडकमा दुर्घटनामा परेको अवस्थामा भेटिएको थियो । उनको मृत्यु रहस्यमय भएको नेकपाले दावी गरेको छ ।

वाग्ले पछिल्लो समय सर्लाहीमा चर्चित मिटर ब्याज पीडित तथा उखु किसानहरुको न्यायका लागि सक्रियतापूर्वक लागेका थिए । उनका आफन्तजनले कतै त्यही कुरा यस दुर्घटनामा जोडिएको छ कि भनेर आशंका पनि गरेका छन् ।

वाग्लेका श्रीमती र २ छोरा छन् ।

Loading...