चीनले नेपाललाई तीन लाख डोज कोरोना खोप दिँदै

काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो ।

चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनलाई विश्वकै सार्वजनिक हितमा प्रयोग गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रतिबद्धताअनुसार नै नेपाललाई पनि प्रदान गर्न लागिएको दूतावासले जनाएको छ।

चीनभित्रै र विश्वभर नै अहिले कोभिड भ्याक्सिनको अत्यधिक माग भए पनि चीन सरकारले नेपाल–चीन मित्रतालाई विशेष महत्व दिँदै नेपाललाई प्राथमिकतामा राखेको दूतावासको भनाइ छ।

नेपाललाई प्रदान गर्न लागिएको भ्याक्सिन चीनको सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको र चीनमा समेत सशर्त स्वीकृति पाएको छ।

सो भ्याक्सिन अहिलेसम्म २ करोड ४० लाख डोज प्रयोग भइसकेको र त्यसको दुई डोज लगाउँदा ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी भएको पाइएको छ।

सुरक्षा र प्रभावकारिताका हिसाबले सो भ्याक्सिन विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डभन्दा राम्रो पाइएको र प्रयोग गरेका बिभिन्न देशहरुबाट त्यसप्रति निकै राम्रो प्रतिक्रिया प्राप्त भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार सो भ्याक्सिनको प्रयोगको बजारीकरण वा आपतकालीन प्रयोगका लागि पाकिस्तान, युनाइटेड अरब इमिरेट्स (यूएई), इजिप्ट, हंगेरीलगायत १३ देशमा स्वीकृति प्राप्त भएको छ।

यसअघि भारतले १० लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिएपछि अहिले ७७ जिल्लामै स्वास्थ्यकर्मी लगायतलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ।

Loading...