डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा

काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई २ महिनाअघि मात्र भूमिसुधार मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो ।

भूमिसुधारमा उनले धेरै सुधारका कामहरु गरेका थिए । जसका कारण भूमाफिया र भ्रष्ट कर्मचारीहरुको उक्साहटमा उनलाई मन्त्री गोपाल दहित र प्रधानमन्त्री देउवाले आपूर्तिमा सरुवा गरेका थिए । आपूर्तिमा गएपछि पनि सचिव देवकोटाले आयल निगमको भ्रष्टाचारमा दोषीलाई अदालतले पुनर्वहाली गरे पनि मन्त्रालयमा हाजिर गराउने निर्णय गरेका थिए । जुन निर्णय नगर्न उनलाई प्रधानमन्त्री देउवाले समेत दबाब दिएका थिए । विभागीय मन्त्री जयन्त चन्द गोपाल खड्कालाई मन्त्रालय तान्ने पक्षमा नभए पनि सचिवको अडानका कारण तान्न बाध्य भएका थिए ।

कार्यकारी निर्देशक खड्कालाई अदालतले पुनर्वहाली गर्ने आदेश दिएपछि मन्त्रालयमा हाजिर गराउने निर्णय तत्कालीन मन्त्री शिवकुमार मण्डलले गरेका थिए । तर मन्त्री मण्डल विनाविभागीय बनाइएपछि आएका जयन्त चन्दलाई प्रभावमा पारी खड्कालाई मन्त्रालय तान्ने निर्णय कार्यान्वयन हुनबाट रोकिएको थियो । तर, सचिवकै कारण उनी तानिएपछि खड्काले प्रधानमन्त्री देउवालाई प्रभावमा पारी सचिव देवकोटालाई नै सरुवा गराएका छन् । देउवाले अब उनलाई निगममै पठाउने आश्वासन समेत दिएको स्रोतले बताएको छ ।

जग्गा खरिदको कमिसन देउवाका आसेपासेलाई दिएपछि उनी पुनः निगममा फर्किन लागेका हुन् । सचिव देवकोटाले उनलाई निगममा फर्काउन नमानेकै कारण उनलाई देउवाले सरुवा गरेको स्रोतले बताएको छ ।

Loading...