काठमाडौँ महानगर र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना

 

जुम्ला । काठमाडौँ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जुम्लाको उद्योग बाणिज्य महासंघको हलमा दुई नगरबिच भगिनी सम्बन्ध स्थापना भएको हो । दुई नगरबिच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। धार्मिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिने सो पार्कका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत बजेटबाट रु १ करोड ५० लाख दिने घोषणा गर्यो । उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालबिच हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले ‘दुई नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ,र सबल बनाउने, आपसी हित र सहकार्यलाई प्राथमिकता दिने, असल अभ्यास र अनुभवको आदन–प्रदान गरी स्थानीय स्वायत्व शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उदेश्यले यो सम्बन्ध स्थापना गरेका हौँ ।
कार्यक्रममा चन्दननाथकी प्रमुख सेजुवालले दुई नगरबिच सम्बन्ध स्थापना हुनु खुशीको कुरा भएको भन्दै आगामी दिनमा विद्यूत व्यवस्थापन, सडक र भौतिक पूर्वाधार निर्माण, पर्यटन मार्ग निर्माणलगायतका लागि पनि सहकार्य गर्न सकिने बताउनुभयो । चन्दननाथ बाबाको नामबाट प्रख्यात जुम्लाको चन्दननाथ नगरपालिका पर्यटकीय हिसावले पनि महत्वपूर्ण रहेको भन्दै महानगरपालिकाको सहकार्यमा निर्माण हुने पार्क निर्धारित मितिमै सम्पन्न गर्ने पनि प्रतिवद्धता व्यक्त गनुभयो । ‘आर्थिक वर्ष २०७८÷०७९ भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

 

 

 

 

 

Loading...