ओलीको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए सामूहिक राजिनामा

काठमाडौँ, ५ पुस । केपी ओली नेतृत्वको मन्त्रिपरिषदका सात जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । आजै बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको असहमतिका बाबजुत जवरजस्त प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि उनीहरुले राजिनामा दिएका हुन् ।

सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले राजीनामा दिएका हुन् ।

‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ संयुक्त राजीनामा पत्रमा भनिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

राजीनामा दिनेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री वीना मगर छन् ।

यस्तो छ सात मन्त्रीले लेखेको राजिनामा पत्र

Loading...