राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबात हटाउन तरुणदल अध्यक्ष बस्नेत माग

   

काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।

तरुण दलका अध्यक्ष जित जंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट निमित्यौने ठहर गर्दै फिर्ता लिन आग्रह गरेका हुन् ।

अध्यक्ष बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनेका छन्- ‘ प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ ।’

अध्यादेश अनुसार कुनै पनि निर्णय नगर्न पनि अध्यक्ष बस्नेतले आग्रह गरे । उनले संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यतामा नेपाल तरुण दल रहेको पनि प्रष्ट पारेका छन् ।

अध्यक्ष बस्नेतले राष्ट्रपतिको भूमिका प्रति पनि प्रश्न उठाएका छन् । उनले भनेका छन् ‘सम्माननीय राष्ट्रपतिज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

उनले माउ पार्टी काँग्रेसले सर्वसत्ताबाद विरुद्ध सडक संघर्ष शुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने यो अभियान बताएका छन् ।