काठमाडौँ। यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।
सबै क्षेत्र खुल्दै गएपछि हाल जोएबिजोरप्रणालीले गर्दा प्रयाप्त सवारीसाधनको अभावले सवारी साधनमा यात्रुको चाप बढ्दै गएको तर्क ब्यबसायीको छ ।
कोरना महामारीका कारण उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप दिन प्रतिदिन बढ्दै बढ्दै गर्दा व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ।
जोरबिजोरका रूपमा सवारी चलाउने कामले थप संकट निम्त्याएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘उपत्यकाको रिङरोडबाट बाहिर जाने मात्र २९ वटा रुट छन्, सहरभित्र जोरबिजोर प्रणालीले ठूलो असर नगर्ला । तर बिहान सहर आएर बेलुका फर्किने रुट छन्,’ उनले भने, ‘तिनलाई ठूलो समस्या परेको छ ।’ यात्रुको चाप हुने रत्नपार्कबाट चापागाउँ, कीर्तिपुर, दक्षिणकाली, साँखु क्षेत्रमा जाने सवारीलाई सबैभन्दा ठूलो असर पुगेको उनको भनाइ छ । अहिले यात्रुको चाप बढेको छ । थोरै सवारी हुँदा यात्रुको चाप बढेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि सबै सवारी चलाउने निर्णयमा पुगिएको बताए । उनले भने ‘सवारी साधन चलाएर कोरोना हुँदैन, भीडले हुन्छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सावधानी अपनाएर गाडी चलाउँछौं ।’