काठमाडौँ । काठमाडौँको कपनमा आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कपनको बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी भएको हो । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
३९ वर्षे कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् ।
उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिएका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ । राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।