नेपालबाट कतारको श्रमस्वीकृति लिने ४ गुणा घटे

काठमाडौं । छिमेकी देशहरूले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि (बिहीबार) ४६२ जनाले कतारका लागि श्रमस्वीकृति लिएकोमा सोमबार दिउँसोसम्म एक सय जनाले मात्र लिएका थिए । “कतार जान तयारी अवस्थामा रहेका कामदार पनि केही दिन पर्खेर अवस्था कस्तो हुन्छ, सोहीअनुसार निर्णय लिने पक्षमा रहेको देखिन्छ,” पाण्डेले भने ।

एक साताअघि साउदी अरब, बहराइन, यूएई, यमन, लिबिया र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि त्यसको असर नेपालबाट कतार जाने नेपालीमा पनि देखिएको हो ।

कतार वैदेशिक रोजगारीका लागि नेपालको आकर्षक रोजगारदाता मुलुक भए पनि एक सातादेखि नेपाली जाने क्रम घट्दै गइरहेको छ । कतारपछि मलेसिया जाने नेपालीको संख्या बढी रहेको देखिन्छ । पछिल्लो साता कतार जाने नेपालीको संख्या ९७६ रहेकोमा सोही अवधिमा ३७६ जनाले मलेसिया जान श्रमस्वीकृति लिएको देखिन्छ ।

कतारको रोजगारीका लागि जाने अधिकांश नेपाली निर्माण क्षेत्रका लागि जाने गरेका कारण लामो समय कूटनीतिक विवाद रहे निर्माण क्षेत्रमा आवश्यक पर्ने सामग्री अभाव हुन गई सो क्षेत्रमा रोजगारी घट्न सक्ने बताइन्छ ।

कतारको निर्माण क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । कतारको निर्माण क्षेत्रमा ठूला सवारी चालक, कार्पेन्टर, प्लम्बर, मेसन, इलेक्ट्रिसियनलगायत काममा धेरै नेपाली कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कतारका निर्माण क्षेत्रमा आवश्यक पर्ने निर्माण तथा अन्य सामग्री कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका देशहरूबाट आयात गरिने भएकाले धेरै विदेशी कार्यरत रहेको निर्माण क्षेत्र प्रभावित हुने भएको छ । कतारले निर्माण क्षेत्रका लागि नेपाल, बंगलादेश, भारतलगायत देशबाट जनशक्ति माग गरिरहेको छ ।

कुन क्षेत्रमा कति नेपाली ?

  • कार्यरत क्षेत्र र कामदार संख्या
    कम्पनी : २२९९२५
    कन्सट्रक्सन कम्पनी : २६३५८
    इन्जिनियरिङ : १४१२७
    जनलर वर्कर : २३९१०
    ट्रेडिङ कन्ट्रयाक्टिङ कम्पनी : ३७४९२
    अन्य : ८२५२९
    जम्मा : ४,१४,३४१

त्यहाँको निर्माण क्षेत्र ओरालो लागे लाखौं नेपाली नेपाली बेरोजगार भई स्वदेश फर्कनुपर्ने अवस्था आउन सक्ने विज्ञहरू बताउँछन् । कतारमा चार लाख १४ हजारभन्दा बढी नेपाली कामदार वैधानिक रूपमा काम गरिरहेको तथ्यांक छ । अधिकांश नेपाली कामदार कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि रंगशालाहरू बनाउने काममा संलग्न छन् ।

निर्माणलगायत अन्य कम्पनीको नाममा श्रमस्वीकृति लिएर २ लाख २९ हजार ९२५ नेपाली कतार गएको तथ्यांक छ । परराष्ट्र मन्त्रालयले कतारमा नेपाली कामदारलाई पर्न सक्ने समस्याका बारेमा सजग हुन कतारस्थित नेपाली दूतावासलाई अनुरोध गरिसकेको जनाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पनि नेपाली कामदारलाई कुनै समस्या आए उद्धारमा समस्या नपर्ने बताएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ खाडी मुलुकमा रमजान र नेपालमा स्थानीय तहको चुनावका कारण यो समयमा विदेश जाने नेपालीको संख्या विगत वर्षको तुलनामा घटेको बताउँछन् । कतारमा देखिएको संकटबाट नेपाली कामदारलाई पर्न सक्ने समस्याका बारेमा सबै कम्पनीलाई सचेत रहन सूचना पठाइसकेको उनले बताए ।

Loading...