भीममल्लहरू मारिएको यो देशमा

सतिले सरापेका यो देशमा
भीममल्लहरू मारिएको यो देशमा
भीमसेन थापाहरू सेरिएको यो देशमा
दण्डित हुनु पर्न मान्छे सम्मानित हुन्छन्
सम्मानित हुनु पर्ने मान्छे दण्डित हुन्छन्
जेल जानु पर्ने मान्छे जेलर हुन्छन्
जेलर हुनु पर्ने मान्छे जेल जान्छन्
देशभक्तहरू फुकी फुकी हिंड्नु पर्दछ यहाँ
लुकी लुकी बस्नु पर्दछ यहाँ
देशघातीहरू त खुल्लमखुल्ला
ढुकी ढुकी बसेका हुन्छन् गौंडा गौंडामा
विदेशी दलालहरूको खेती हृुन्छ यहाँ
लेन्डुपेहरूको नीति हुन्छ यहाँ
हुँदैन केही कुरा पनि दिनको उज्यालोमा यहाँ
मध्यरातमा ठूला ठूला सौदाबाजी हुन्छ यहाँ
कारोबार हुन्छ यहाँ
लेनदेन हुन्छ यहाँ
किन बेच हुन्छ यहाँ
जनता जब गहिरो निंदमा हुन्छन्
चोर र डाँकाहरू सल्बलाउन थाल्छन्
देशको नाप नक्शा खल्बलाउन थाल्छन्
लुट्न र लुटाउन थाल्छन्
सिंगै देश बेच्न नसके पनि ठेकेदारहरू
किस्ता किस्तामा देश बेच्दछन्
चिरा चिरा पारी देश बेच्दछन्
पलटिंङ गरी गरी देश बेच्दछन्
अझ पनि जनता रही रहने हो गहिरो निंदमा भने
भोलि जाग्दा उनी
अर्कै देशका बासिन्दा हुन सक्दछन्
उनको देशको नाप नक्शा र्नै गायब हुन सक्दछ
चुच्चे नक्शा गायब भए जस्तै
गायब गरिए जस्तै
चौकीदारको भरमा देश सुम्पिदा बर्बाद हुन सक्दछ
जनता आफै चौकीदार बन्नु पर्दछ शायद
जनता आफै पहरेदार बन्नु पर्दछ शायद
यसैले त आँखा चिम्लेर सुत्ने बेला होइन यो
आवश्यक परे खुँडा खुकरी बोकेर जागाराम रहने बेला हो यो
संभावित दुर्घटनाबाट देश बचाउने बेला हो यो
देशमा कुनै अनर्थ हुनबाट रोक्ने बेला हो यो
सगरमाथाको शिर झुक्न नदिने बेला हो यो
बुद्धको देश गायब हुन नदिने बेला हो यो
बीर पुर्खाको गौरव गाथा कायम राख्ने बेला हो यो ।

Loading...