बन्यो सास सुँघेर कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौं । वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो।

सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ।

उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त काेराेना भए/नभएकाे पत्ता लागेकाे ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र कोरोना परीक्षण गर्न अन्य कुनै नमुना लिन नपर्ने तथा जनशक्ति नचाहिने र केही मिनेटभित्रै नतिजा आउने बताए।

यो प्रविधि हवाई तथा स्थल यातायात क्षेत्रमा काेराेना परीक्षण गर्न बढी उपयोग हुने उनकाे भनाइ छ। इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा याे उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ।

Loading...