काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाइ दियो एक थान पीसीआर मेसिन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो ।

करीब रु १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गर्नुभयो । भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले काठमाडौँ महानगरपालिकालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा महानगरले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएको मेयर शाक्यले बताउनु भयो। ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’
मेएर शाक्यले यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कान्तिबालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाठौँ महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताउनुभयो । ‘हामी अहिले कोभिडविरुद्धको लडाईँमा छौँ,’ उहाँले भन्नुभयो, ‘यस्तो बेलामा काठमाडौँ महानगरपालिकाले निकै ठूलो सहयोग गरेको छ । अब एक हप्ता भित्रमा हामी सेवा सुरु गर्ने छौँ ।’
पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताउनुभयो । ‘अहिलेसम्म कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ,’ उहाँले भन्नुभयो, ‘आजसम्मको तथ्याङ्क हेर्ने हे भने १ जना मात्रै कोरोना पोजेटिभका विरामी रहेका छन् । अहिलेसम्म दुई जनाले कोरोेनाका कारण ज्यान गुमाएका छन् ।’
काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।
त्यतिबेला पनि महानगरपालिकाले वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) ५ सय थान हस्तान्तरण गरेको थियो ।
त्यसैगरी प्रसुति तथा स्त्री रोग अस्पताललाई पिसिआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५ सय थान हस्तान्तरण गरेको थियो ।

 

 

Loading...