काठमाडौँ। शिवपुरी पर्वतको फेदीमा रहेको पुरानो बस्ती टोखा गुलियो परिकार “चाकु” उत्पादनको लागि प्रख्यात छ। परम्परागत रुपमा तयार पारिने “चाकु” हाल संगठित रुपमा अहिलेका पुस्ता नया सोचबात अगाडी बढेको पाइन्छ। नेवार समुदायमा बिशेष परिकार यो परिका विभिन्न पर्व र ऋतु संग जोडिएको छ। प्रत्येक बर्ष माघेसंक्रान्ति ,योमरी पुन्हीमा बिशेष महत्वो रहेको चाकु जाडोयाममा शरीरलाइ न्यानो गरि संतुलामा राख्न समेत फलदाई मानिन्छ।
विशुद्ध नेपाली परिकारको रुपामा परिचित “चाकु” बनाउन प्रसिद्धि पाएको टोखा नगरका जेष्ट “देय् नायः” १ सय ५ वर्षका तुलसी नारायण श्रेष्ठलाई संगठित चाकु व्यवसायीहरुका चौथो पुस्ताले चाकु उत्पादन र बिक्री वितरणको इतिहासकै जीवित धरोहरका रुपमा अभिनन्दन गरेका छन् ।
टोखा नगरपालिका वडा नम्बर २, भिल्लीमा रहेकाे श्रेष्ठको घरैमा पुगी उहाको सुस्वाथ्य एवं दिर्घायुको कामना गरि समान गरिदा श्रेष्ठले सबै प्रति आभार प्रकट गरि पुराना आफुल सम्झेका बिगतलाई लर्बराउदै मसिनो स्वरमा सम्झिदै सुनाए -“म आज एकदमै खुशी छु, तपाईंहरु सबैको जय होस्” उहाका अनुसार ८० / ९० बर्ष अगाडी त्यतिबेला ऊखु खेतीदेखि चाकु उत्पादनसम्म टोखामै हुने गर्दथ्यो । ४-५ घर-परिवार मात्रै ऊखु पेल्नेदेखि चाकु उत्पादन गर्ने सम्मको व्यवसायमा संलग्न थिए ।
ती परिवारमध्ये पनि कोही टोखा बाट १० किमि खर्पनमा भरियालाइ बोकाएर काठमाण्डौको असन, मरुतिर व्यापार गर्न आउँथे भने कोही ललितपुरको मंगलबजार, कोही भक्तपुर, थिमितिर र कोही गोकर्ण, साँखुसम्म व्यापार गर्न जाने गर्दथे । तुलसी नारायणको कार्यक्षेत्र टोखाबाट उत्तरतर्फको नुवाकोट, रसुवा जस्ता दुर्गम पहाडतर्फ चाकुको भरि बोकाएर हिडेरै जाने गर्थियो। उत्पादित चाकुका डल्लाहरु परम्परागत खर्पनमा राखेर गुर्जे भञ्ज्याङ हुँदै नुवाकोट र रसुवासम्म पुगेर पहाडी जनजीवनमा चाकु उपलब्ध गराउने उहाँको दिनचर्या नै थियो ।
अरुसमय अन्यकाममा ब्यस्त रहने चाकु उत्पादकहरु दशैँ-तिहार लगत्तै चाकु उत्पादनमा आफ्नो तैयारी अगाडी बढाउनमा बस्त देखिन्छन। चाकु संगै जोडिएको चाडहरु सामुन्ने आइसकेकाले चाकु उत्पादकहरुको समाजले पश्चिम नेपालको नवलपरासी र कपिलवस्तुका कृषकहरुसित ऊखु उपलब्धताका लागि सम्झौता गर्ने तयारी गरिरहेको छ ।
आफ्ना उत्पादनलाई विश्व बजारमा विश्वसनीय बनाउन एउटै “ब्राण्ड” निर्धारण गरिसकेको समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ बताउनु हुन्छ । वर्तमानमा विश्वका कैयौँ देशबाट माग हुने गरेको चाकुलाई यति लोकप्रिय बनाउन टोखाका तुलसी नारायण श्रेष्ठ जस्तै अनेकौँ उत्पादन र बिक्रेताहरुको अतुलनीय योगदान रहेको छ ।
तुलसी नारायण जस्तै काठमाण्डौ उपत्यका बाहिर पुगेर चाकु बिक्री-वितरण गर्ने गरेका टोखाकै ८३ वर्षीय भाइनारायण श्रेष्ठ आफूले उत्पादित चाकु डोकोमा राखेर बिक्रीका लागि लाने गरेको र गाउँगाउँ पुगेर खुर्सानी, कोदो र अण्डा जस्ता खाद्य पदार्थसित साटेर पनि ल्याउने गरेको सम्झिनु हुन्छ ।
उहाँको स्मृतिअनुसार एक धार्नी सख्खरबाट १५-१६ डल्ला चाकु बन्ने र त्यसको मूल्य तत्कालीन समयमा एक मोहरदेखि एक रुपैयाँसम्म हुने गर्दथ्यो ।
टोखा चाकु उत्पादकहरुले पुस्तैनी पेशाकै रुपमा यसलाई अँगालेका छन् । ८२ वर्षीय भक्त श्रेष्ठले पनि आफ्नो पुस्तैनी पेशाका रुपमा पाएको चाकु उत्पादनमै जीवन बिताउनुभयो । ०१५ सालमै पश्चिम नेपालबाट सख्खर कालीमाटी आइपुग्ने गरेको, त्यसलाई ठेलागाडामा राखेर सामाखुसीसम्म ल्याएर चाकु बनाउने गरेको र टोखाबाट सबैतिर आपूर्ति गर्ने गरेको उहाँ सम्झिनु हुन्छ । उहाँ भन्नुहुन्छ- “त्यतिबेला हामी चाकु पातमा पोको पारेर बेच्ने गथ्यौँ, पछि ०४० सालतिर प्लाष्टिकको प्रचलन भित्रियो ।”
उहाँ चाकुको कच्चा पदार्थ सख्खर छोएरै त्यसको गुणस्तर पत्ता लगाउने गर्नुहुन्थ्यो । छुँदा चिप्लो र लस्सादार भयो भने त्यो सख्खर चाकुका लागि राम्रो हुने गर्दछ भने खस्रो सख्खर चाकुका लागि उपयुक्त नहुने अनुभव उहाँ जस्तै अन्य सबैले गर्ने गरेका छन् ।
यसैगरि पुस्तैनी पेशा अँगाल्दै सानै उमेरदेखि चाकु उत्पादन र बिक्री आएका ७३ वर्षीय काशीलाल श्रेष्ठका अनुसार त्यो समय धार्नीको ५ रुपैयाँ दरमा सख्खर किनेर ल्याउने साथै सम्पूर्ण कठिन प्रक्रिया पुर्याएर चाकु बनाइसकेपछि काठमाण्डौको असनदेखि पूर्वी भेग साँखुसम्मका बिक्रेताहरुलाई बेच्ने गरेको सुनाउनु हुन्छ। उहाँले उत्पादन गर्नुभएको चाकु बिक्रेताहरुले टिनमा हालेर लाने गरेको र १५ दिनपछि भुक्तानी दिने गरेको सम्झिनु हुन्छ ।
आफूहरुले उतिबेलै उत्पादित चाकुका डल्लामा काठले बनएको साँचाले “श्री टोखा” डाम्ने गरेको र त्यतिबेलै टोखा चाकुका लागि प्रसिद्ध रहेको उहाँ बताउनु हुन्छ । भरिया खर्चा महँगो भएका कारण टेकुबाट सक्खर ल्याएर उत्पादकहरुमध्ये कतिपयले काठमाण्डौमै डेरा लिएर उत्पादन गर्ने गरेका पनि छन् ।
त्योबेला आफुहरुले उत्पादन गरेको चाकु प्रमुख बजार असन नजिक कःमिलाछि, कुसुमबियालाछि र नःघः आदि स्थानमा थोक बिक्रेता सहुहरुलाई बेच्ने गरेको ७१ वर्षीय नातिभाइ डंगोल बताउछन्।
चाकु संरक्षण समाजमा हाल उपाध्यक्ष बुद्ध श्रेष्ठ, महासचिव रामराज श्रेष्ठ, कोषाध्यक्ष सकली श्रेष्ठ साथै सदस्यहरु बाबुराज डंगोल र न्हुछे नारायण श्रेष्ठहरु पुस्तौदेखी पुर्खाले चलाएको पेसा र आफ्नो क्षेत्रको पहिचानको बागडोर सम्हाल्दै निरन्तरता दिदै आएका छन्। सरकारी मापदण्डका कारण आफुहरुको उत्पादनलाइ ब्रान्ड दिन कठिनाई भएको र चाडैनै एकबद्ध भएर टोखाको पहिचान चाकुलाई यसै वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा राम्रो छविका साथ निर्यात गर्ने तत्परतासाथ अघि बढिरहेको बताउनुहुन्छ ।