काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सल्लाहकार थापाले एक सम्क्षिप्त प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
थापाका अनुसार बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
जारी प्रेस नोटमा थापाले भनेका छन्, ‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो ।’
बुधबार राती बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग डेढ घण्टा भेटवार्ता गरेका रअका प्रमुख गोयल बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्केका थिए।
‘गोयलसहित तीन जनाको टोलीले प्रधानमन्त्री ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेको छ’, एक जना सुरक्षा अधिकारीले भने, ‘बुधबार राती १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार छिरेको गोयलको टोली ११ बजेर ४५ मिनेटमा बाहिरिएको थियो।’
रअका प्रमुख गोयल, उनीसँगै आएका अरुण जैन र अर्का एक जनासहित तीन जनासँग भएको भेटमा प्रधानमन्त्री ओली एक्लै थिए।
कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे बिहीबार बिहान उनी दिल्ली फर्कनु अघिसम्म सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका थिएनन्।







