रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण काठमाडौँ महानगरकै अवधारणा अनुरुप सम्पन्न : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाले लिएको अडान र अवधारणा अनुरुप नै सम्पन्न भएको बताउनु भएको छ । बिहिबार काठमाडौँ महानगरपालिकाको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौँ महानगरपालिकाको जिम्मेवारी भित्र रहेका यी दुई ओटा ऐतिहासिक सम्पदा विभिन्न खाले विवादका बिचमा पनि काठमाडौँ महानगरपालिकाको अवधारण अनुसार नै पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भएका छन् । 

२०७२ साल माघ २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी बिचमा विभिन्न खाले विवादका कारण अलमल रहे पनि पाँच वर्षपछि बिहीबार उहाँले नै उद्घाटन गरेपछि अहिले रानीपोखरी हेर्न लायक बनेको छ ।

९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए ।२०७४ पुस ११ गते केही विवाद भएपछि मेयर शाक्यको अध्यक्षतामा २०७४ साल पुस १३ गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण सम्पन्न भएको हो।

मेयर शाक्यले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिनुभयो ।शाक्यले भन्नुभयो, ‘ सय वर्ष पहिला दरबारियाका छोरा–छोरी मात्रै पढ्ने त्यो हाइस्कुलमा अहिले जनताका छोराछोरी अध्ययन गर्छन् । त्यसैले अहिले विद्यार्थीको चाप पनि बढेको छ । त्यसैले पहिलाकै स्वरुपमा भन्दा पनि केही परिर्वन गरेर जतिसक्दो धेरै विद्यार्थी अध्ययन गर्ने गरी मौलिकतालाई पनि कायम राख्दै निर्माण गनुपर्छ भनेर अडान लिएपछि अहिले चार तलाको निर्माण भएको छ । हामीले भने अनुसारकै काम सम्पन्न भएको छ, यसमा गौरव महशुस भएको छ ।’  

Loading...