केही घन्टाका लागि मात्र सुटुक्क किन आए भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल

काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। उनी बुधवार दिउसो १ बजे भारतीय वायुसेनाको विमानमा चढेर काठमाडौं एअरपोर्टमा ओर्लिएका हुन् ।

यही कार्तिक १८ गते भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदैछन् । नरवाणेको उक्त भ्रमणअघि विभिन्न कुराहरु मिलाउन गोयल नेपाल आएको बुझिएको छ ।

सेनाध्यक्ष नरवाणेको भ्रमणका अवसरमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल र भारतबीच लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित मिचिएका सीमा क्षेत्रका बारेमा पनि कुरा हुने बताइएको छ । दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार्नका लागि यो भ्रमणले सहयोग पुर्याउने बताइएको छ ।

गोयलले आजै अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । भेटघाटको तालिका उनी आउनु अघि नै तय भइसकेको र उनी तय गरिएका भेटघाटमा सहभागी भई बिहीबार बिहानै ९ बजे ने फर्किने बताइएको छ ।

गोयलको यो भ्रमण गोप्य भनिए पनि मिडियामा चुहिएको छ । उनले अनौपचारिक रुपमा आएर भेटघाट गरी सुटुक्क फर्किने सोचेको तर नेपाली मिडियामा चुहिएपछि धेरै टिप्पणी सुरु भएका छन् । गोयल नेपाल आएको कुराका सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक स्रोतले जनाएको छ ।

रअ का प्रमुख गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी नभएको बुझिएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यसबारे मन्त्रालयमा कुनै खबर नआएको बताइन् ।

Loading...