१५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्र निर्माण गर्दै छौ : मेयर शाक्य

असोज २६,काठमाडौँ।    काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सोमबार वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताउनु भएको हो । मेयर शाक्यले छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने बताउनु भयो ।

 

उनले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिनुभयो । शाक्यले पशुपति क्षेत्रमा थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताउनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौँ महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले अहिलेको शवदाह यन्त्र अप्रयाप्त भएको र घण्टौँसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको भन्दै आगामी दिनमा त्यसको समेत अन्त्य हुने दाबी गर्नुभयो । असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थितिमा आज कुलेश्वर महादेव मन्दिर परिसरमा प्रमुख शाक्यले शिलान्यास गर्नुभएको पार्क करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त पार्क करीब १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । उक्त अवसरमा हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै रहेको प्रमुख शाक्यले भन्नुभयो। प्रमुख शाक्यले सम्वोधनकै क्रममा अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै तीनै तहका सरकार र जनता मिलेर नियन्त्रणको प्रयासमा लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले आम नागरिकलाई सचेत र सजग रहन पनि अपिल गर्नुभयो ।    

Loading...