कोरोना लागेर निको भएका सफाइ कर्मचारीबाट जुस पिएर अनसन तोडे डा. केसीले

काठमाडौं, २५ असोज । २८ दिनदेखि आमरण अनसनमा बसेका सत्याग्रही डा. गोविन्द केसीले कोरोना लागेर निको भएका एक सफाई कर्मचारीको हातबाट जुस पिएर आफ्नो अनसन तोडेका छन् । धेरैजसो अनसनमा बस्नेहरुलाई राज्यका कुनै ठूलै जिम्मेवारीमा रहेका व्यक्तिबाट जुस खुवाएर अनसन तोडाउने गरिए पनि डा.केसीले भने सर्वसाधारणको हातबाट जुस पिएर अनसन तोड्ने गरेका छन् । आज आइतबार पनि उनले त्यसै गरे ।

शनिवार राति सरकारले डा. गोविन्द केसीसँग फेरि ८ बुँदे सहमति गरेको थियो । सो सहमतिमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले हस्ताक्षर गरेका थिए । शनिवार मध्यराति सहमति भएपछि केसीले आइतबार बिहान ९स्३० बजे अनसन तोड्ने समय निर्धारण गरेका थिए । तर, अनसनमा भने डा. केसीले शनिवारदेखि नै अनसन तोड्ने उल्लेख गरिएको थियो ।

आइतबार बिहान डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे । ४६ वर्षका सफाइ कर्मचारी विकास नेपालीलाई केही दिन पहिले मात्र कोरोना भाइरसको संक्रमण भएको थियो । उनमा अहिले कोरोना संक्रमण भएर निको भइसकेका छ ।

डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै जुम्लाको सदरमुकाम खलंगास्थित बाबिरा मस्टोको मन्दिरमा अनसन सुरु गरेका डा. केसीलाई केही दिनमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो र अनसन बसेको आठौं दिनमा काठमाडौं ल्याइएको थियो । जुम्लाबाट नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौं ल्याइएका केसीलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै उनको इच्छा विपरित रत्नपार्क नजिकै रहेको ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँ लगिएपछि उनले आफ्नो अधिकारमा हस्तक्षेप भएको भन्दै विरोध गरेका थिए । उनले ट्रमा सेन्टरमा कुनै पनि जाँचबुझ गर्न नदिने भनेर अडान लिएपछि त्यही राति त्रिवि शिक्षण अस्पताल सारिएको थियो । त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएका डा. केसीसँग सम्झौतामा हस्ताक्षर गर्न सरकारी वार्ता टोलीका संयोजक मैनाली गए राति त्यही पुगेका थिए ।

Loading...