तातोपानी नाका फेरि सञ्चालनमा

काठमाडौँ । लामो समयदेखि बन्द रहेको चीनसँगको ताताेपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका आजदेखि खुला भएको जानकारी दिएकी छन्।

२०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो। याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको सुन्दा खुसी लागेको बताएकी छन्।

यससँगै चीनसँगका मुख्य दुई नाका तातोपानी नाका र रसुवाको केरुङ नाका नियमित सञ्चालन हुने भएका छन्। तातोपानी नाका बन्द हुँदा चीनसँगको आयात निर्यात प्रभावित हुँदै आएको थियो।

राजदूत याङ्छीले नेपालीहरुलाई दशैँको शुभकामनासमेत दिएकी छन्।

Loading...