सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ को शव फेला, २८ वेपत्ता, गएराति सबैभन्दा ठूलो पानी बाह्रबीसेमा

काठमाडौं, २८ भदौ। सिन्धुपाल्चोकमा फेरि पहिराे गएकाे छ । बाह्रविसे नगरपालिका वार्ड नं ७ का तीन ठाउँमा पहिराे गएकाे हाे । साे ठाउँका नागपुजे र भिरखर्कमा गएकाे पहिरोले ठूलाे जनधनकाे क्षति पुगेकाे छ । अहिलेसम्म पहिराेमा परेका मध्ये ३ जनाकाे शव भेटिएकाे छ भने २८ जना वेपत्ता छन् ।

पहिरोले नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको दलित टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको प्रहरीले जनाएकाे छ । पहिराेले उक्त ठाउँका ११ वटा घरमा बढी क्षति पुगेको बताइएकाे छ । 

सिन्धुपाल्चाेकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पहिराेमा परेकाहरुकाे उद्धार कार्य जारी रहेकाे जानकारी दिएका छन् । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए । 

गएराति परेको पानीका कारण ठाडो खोलाले नागपुजे र भिरखर्कमा वस्तीमा क्षति पुर्याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

त्यसैगरी सिन्धुपाल्चाेककै बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

Loading...