गाउँपालिकाको नयाँ नियम, मारकाट गरे अब तीस हजार जरिवाना

हुम्ला । हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको सबै वडाहरुमा पशु हिंसा गर्न गराउन निषेध गरिएको छ । यहाँ कोही कसैले गरेको पाइएमा तीस हजार नगद जरिवाना र सामाजिक बहिष्कार गरिने भएको छ ।

पछिल्लो समय नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको नाम्खा ख्योमजोङ गुम्बा एक धार्मिक क्षेत्र मात्र नभएर शैक्षिक क्षेत्रका रुपमा पनि विकास हुँदै गएको जानकारी याल्वांगका निवासी छेपालदोर्जे लामाले दिएका छन् । यहाँ मातृभाषामा तिब्बती लिपीको पढाई हुनुको अलवा नेपाली, अंग्रेजी र अन्य पाठ्यक्रमको पनि अध्ययन अध्यापन हुन थालेको छ । जसले गर्दा खश र जाड समुदायको विभेद पनि विस्तारै कम हुँदै गएको छ ।

हुम्ला जिल्लाको विभिन्न गाउँका स्थानीयहरुले आफ्नो गक्ष अनुसार नगद, रासनपानी र अन्य जुनसुकै कुरा एकमुष्ट वा किस्तामा वर्षभरी उपलब्ध गराएर पठनपाठनका लागि लगाउन सकिने सिमकोट गापा वडा नं ८ का जीतबहादुर बुढाले बताए । उनले भने आफ्नो छोरालाई चार वर्ष अघि भर्ना गरेको हुँ, अहिले नौ कक्षामा अध्ययनरत छ र उसले नेपाली, अंग्रेजी र तिब्बती तीन भाषा जान्ने मौका पाएको छ । यसले गर्दा ताक्लाकोटतिरको काम गर्न सजीलो हुनेछ ।

यो गुम्बामा विभिन्न प्रकारका पूजाआजाका साथै धार्मिक प्रवचन पनि हुने भएकाले विभिन्न प्रकारका सत्मार्गका आन्तरिक र बाह्य काम गर्न गराउन सहयोग पुगेको केर्मी गाउँका शिक्षक कर्णबहादुर लामाको स्वीकारोक्ति रहेको छ । उनको अनुभवमा यो गुम्बाले मानवीय र सामाजिक उद्धारका शिक्षाहरु दिने भएकाले गाउँपालिका स्थानीयहरु प्रत्यक्ष रुपमा मारकाट कम गर्दै गएको छ ।

केही वर्ष अघि यही गुम्बाको अगुवाई र निर्देशनमा गाउँ गाउँमा भएका भरुवा बन्दुक नास गर्ने अभियान शुरु हुँदा गाउँमा अवैध शिकार खेल्ने र खेलाउने काम बन्द भएको हो । यसले गर्दा वन्यजन्तु संरक्षणमा सकरात्मक काम भएको जानकारी नाम्खा गाउँपालिका खालोई गाउँका तोप्चेन लामाले दिए ।

यो गाउँपालिकाको नाम्खा ख्योमजोङ गुम्बा याल्वांग र गाउँपालिकाको समन्वयमा अबदेखि यो गापाभित्र कुनै पनि प्रकारको घरेलु तथा वनेलु पशुवस्तु मारकाट गरे गराएमा तीस हजार नगद जरिवाना सहित सामाजिक बहिष्कार गर्ने गराउने निर्णय भएको जानकारी नाम्खा गाउँपालिका स्रोतले दिएको छ ।

पछिल्लो समय जनजाति तथा अन्य समुदायले नेपालको पछिल्लो पटक आएको कानुनी संहितामा सुधार र संशोधन गरेर पशुवध गर्ने प्रावधान थप्नु पर्ने माग आइरहेको बेला नाम्खा गाउँपालिकाले हिंसा रहित समाजको निर्माणका लागि उल्लेख निर्णय गर्नु सकरात्मक कुरा भएको स्थानीय जानकारहरुले बताएका छन् । यसको सिको सबैले गर्नुपर्ने हो कि ?

Loading...