अवैध रुपमा पत्रकार परिचयपत्र र प्रेस ज्याकेट बनाएर बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ । अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

उक्त गिरोहले लकडाउनको समयमा आवागमन सहज हुने भन्दै फेसबुकमार्फत सम्पर्क गर्ने, नमुनाहरु पठाउने र परिचयपत्र तयार पारेर होम डेलिभरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त गिरोहले एउटा प्रेस कार्डको पाँच सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लिने गरेको थियो। बागबजारस्थित ‘कालिका डिजाइन’बाट उक्त गिरोहलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।

पछिल्लो समय प्रेस ज्याकेटको दुरुपयोग बढ्दै गएपछि प्रहरीले चेकजाँचमा समेत कडाइ गरेको छ। गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा भएको प्रहरी र स्थानीयबीचको झडपमा ‘प्रेस’ अंकित ज्याकेट लगाएका व्यक्तिले एक हातमा क्यामेरा लिएर अर्को हातले प्रहरीमाथि ढुंगा प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो।

Loading...