काठमाडौं, १० भदाै। कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमै फैलिएपछि काठमाडौ उपत्यकामा एक हप्ते कर्फ्यू जारी गरियो । एकहप्ते कर्फ्यू सकिन लाग्दा कर्फ्यू एक हप्ता फेरि थप्ने निर्णय भएको छ । लामो लकडाउनले आजित भएका नागरिक फेरि अकस्मात भएको कर्फ्यू र त्यो पनि उसैगरी एक हप्ता, अर्को हप्ता गर्दै थपिन थालेपछि आक्रोशित बनेका छन् । परिक्षण व्यापक बनाउने र राम्रो उपचारको प्रबन्ध गर्नेभन्दा जनजीवन ठप्प पार्ने मात्र काममा सरकार लाग्न थालेपछि त्यस्ता आक्रोश बढिरहेका छन् ।
हामीले यहाँ सामाजिक सञ्जालमा पोखिएका केही आक्रोशहरुलाई राखेका छौ । वास्तवमा सरकार कोरोना भाइरसको संक्रमण रोक्न गम्भीरता नदेखाएको सर्वसाधारणको बुझाई छ । सुरुमै नाकाहरुमा कडिकडाउ गरेको भए, बाहिरबाट आउने हरेक नागरिकलाई त्यतिबेलै अनिवार्य पिसिआर परिक्षण गरेको भए, कोरोना भाइरस यसरी फैलिने कदापी थिएन । पीसीआर परिक्षण गरेर भित्र्याइएकाहरुलाई पनि तोकिएको समय व्यवस्थित आइसोलेसन सेन्टरमा राखिनुपथ्र्यो । कोरोना फैलिएर त्यसबाट जति क्षति अहिले भएको छ देशलाई, यदि त्यो बेला बाहिरबाट आउने मान्छेहरुलाई व्यवस्थित आइसोलेसनमा राख्न लागेको भए निकै थोरै खर्चमा त्यो काम हुन्थ्यो ।
तर, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टरका नाममा सरकारले यातनागृह जस्ता आइसोलेसन सेन्टरहरु बनायो । जहाँ पशुवस्तु जसरी मानिस राखिए । त्यहीबाट नै सबैभन्दा बढी कोरोना सर्यो । आइसोलेसनमा राखेर मान्छेहरुलाई कोरोना सारे जस्तो भयो । आइसोलेसन सेन्टरमै धेरै मानिसहरुको मृत्यु भयो । अहिले भयावह परिणाम आएको छ ।
त्यसैगरी सरकारले लकडाउनलाई प्रभावकारी बनाएन । आम नागरिकलाई लकडाउन जारी गरेर घरबाट निस्किन नदिए पनि पहुँचवालाहरु भने यो बीचमा निस्फिक्री घुमे । आफ्ना गतिविधि गरे । मन्त्री, सांसद वा नेताका नजिकका मान्छेहरु वा तिनीद्वार परिचालित मान्छेहरु वा उनीहरुसँग पहुँच भएका मान्छेहरुलाई कहिले पनि न त लकडाउन लाग्यो न त कर्फ्यू । पावर मिलाएर पास मिलाउने र चर्को भाडा उठाएर यही बीचमा सत्ताका पहुँचवाला व्यवसायीले करोडौ कुम्ल्याए । सरकारी पास बिक्री भयो ।
लकडाउन गरेर आन्तरिक द्वन्द्वमा लागेर रमिता देखाएजस्तो भयो । सरकारका मन्त्रीहरु आफ्ना नजिकका मान्छेहरुमार्फत व्यापारमा, कमिसनमा लागेको खबर बाहिर आए । ओम्नी प्रकरणले जनमन तात्नु तात्यो । गाली गरेजस्तो गरेर आधा काम सरकारले ओम्नी समूहबाटै गरायो । फेरि हटाए जस्तो गर्यो र त्यो काममा सेनालाई अघि सार्यो । तर, सेनाको खरिदमा पनि निकै महंगोमा सामान खरिद भएको देखियो । पछि सेनाले नै रक्षामन्त्री इश्वर पोखरेलले आफ्ना पुत्रमार्फत कमिसनमा लागेर दवाव दिएको खुलासा गर्यो । रक्षामन्त्री पोखरेलको नेतृत्वमा दुई दुई वटा समिति बनाइए । ती दुबै समितिमा उनको एकलौटी हुकुम चलेका कुरा बाहिर आए । उनको क्रियाकलापले रोगी अवस्थामा पनि थकाइ नमारेर खटिरहेका प्रधानमन्त्री केपी ओलीमाथि नै ठूलो प्रश्न उठ्यो । ओलीका आफ्ना दम्भ होलान, शैली होलान तर उनी आफ्ना कारणले भन्दा उनका पछि लागेकाहरुका कारणले बढी बदनाम भए ।
अहिले मानिसहरु भन्छन कि जहिलेसम्म इश्वर पोखरेल सरकारमा रहन्छन, त्यतिबेलासम्म ओली सफल हुँदैनन । तबसम्म ओलीका कामबाट नागरिक सन्तुष्ट हुने अवस्था आउँदैन । सर्वसाधारणको यो टिप्पणी साँच्चिकै गम्भीर छ । यहाँ फेरि थपिएको कर्फ्यूपति केही सर्वसाधारणले पोखेका आक्रोश जस्ताको तस्तै राखेका छौ ।
यस्ता छन् प्रतिक्रियाहरु