उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द

काठमाडौँ । काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

भदौ १५ गतेसम्मका लागि ती सेवाहरु बन्द रहनेछन्। सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कोरोना संक्रमण फैलँदै गएपछि त्यसको रोकथामका लागि उक्त निर्णय गरिएको बताए।

यसअघि उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासनले अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा भदौ ८ गतेसम्मका स्थगित गर्ने निर्णय गरेको थियो।

मेयरहरुको बैठकले सार्वजनिक यातायात सञ्चालन भएपछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

Loading...