काठमाडौसहित एकै दिन कोरोनाबाट ६ जना संक्रमितको मृत्यु

काठमाडौं, २१ साउन । नेपालमा एकैदिन ६ जना काेराेना संक्रमितको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको हाे । मृत्यु हुने सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला हुन । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

कोरोना संक्रमणबाट वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको बताइएकाे छ । मधुमेहका बिरामी रहेका उनले साउन १८ गते पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका थिए । साे क्रममा उनमा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या भएपछि २० गते राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार नभएकाे र विहान मृत्यु भएकाे बताइएकाे छ ।

यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।

स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए । मृतकको घर पोखरिया–८ जगतपुर हो । उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

त्यसैगरी माेरङमा पनि दुइ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । कोशी अस्पतालमा गरिएकाे परिक्षणमा बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो । थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । तर उनको बाटोमै मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय र राजगढ गाउँपालिकाका ७१ बर्षीय बृद्धमा भने कोरोना संक्रमण देखिएन । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको मृत्यु भएपछि स्वाब संकलन गरी जाँच गरिएको थियो ।

योसँगै कोरोना संक्रमणबाट सप्तरीमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि राजविराज ६ निवासी ७२ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Loading...