सरकारी छाप नक्कली बनाई आर्काको जग्गा बेच्ने पक्राउ

  साउन १२ , काठमाडौँ। सरकारी छाप नक्कली बनाई आर्क्काको जग्गा बेच बिखन गर्ने फरार रहेकालाइ प्रहरीले पक्राउ गरेको छ। ललितपुर महांकाल गाउँपालिका-२ बस्ने ४३ वर्षीय हरिशरण महतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७० चैत १७ गतेको सरकारी छाप किर्ते गरेको ठहर गर्दै गरेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोमा लुकिछिपि बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
महत समेतले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौं नागार्जुन नगरपालिका-५ स्थित कित्ता नम्बर ८१८ को २-०-२-० क्षेत्रफल जग्गा मालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भिम बहादुर राई समेतको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारि भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाई सिन्धुपाल्चोक साबिक फुल्पिङ्कट्टी गाबिस-१ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई कास्की साविक पोखरा उपमहानगरपालिका-३ बस्ने प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाख रुपैयाँ मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर भएको हो ।
कसूरमा संलग्न खरिदार भिम बहादुर राईलाई सोही ब्यूरोको प्रहरीले २०७४ जेठ २२ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।
महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Loading...