१२० दिन लामो लकडाउन हट्यो, यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

 

काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण मुलुकमा जारी १२० दिन लामाे ‘लकडाउन’ मंगलबार रातीबाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएका हुन् । 

मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय समेत गरेको छ । त्यस्तै सरकारले साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णय गरेकाे छ ।

सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने बताइएको छ । प्रवक्ता डा. खतिवडाले ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने जानकारी दिए । हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको उनको भनाइ थियाे ।

सरकारी कार्यालयमा कर्मचारीहरुको हाल हुँदै आइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री डा. खतिवडाले जानकारी दिए । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

 

Loading...