अर्को जित निकाल्दै रियल म्याड्रिड ला लिगा उपाधि नजिक

काठमाडाैं । रियल मड्रिडले अब मात्रै एक जित निकाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ ले पराजित गरेसँगै रियल मड्रिड उपाधिको एक जित पर पुगेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गरेको दुई गोलको सहयोगमा रियल मड्रिडले जित निकालेको हो।

उसका लागि फेर्ल्याण्ड मेन्डी र करिम बेन्जिमाले गोल गरे । १० औँ मिनेटमा मेन्डी तथा १६ औँ मनिेटमा बेन्जिमाले गोल गरी रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

ग्रानाडाका लागि माचिसले ५० औँ मिनेटमा एक गोल फर्माए । जितसँगै जिनेदिन जिदानको टिम रियल मड्रिड दुई खेल बाँकी हुँदा दोस्रो स्थानको बार्सिलोना भन्दा चार अंकले अघि रहेको छ ।

रियल मड्रिडलाई जितका लागि अब लिगका दुई खेलमा मात्रै दुई अंक जोडे पनि हुन्छ उपाधि पक्का गर्नका लागि।

रियल मड्रिड हेड टू हेडमा बार्सिलोना भन्दा अघि रहेकाले अंक बराबरी नै भए पनि उपाधि जित्न सक्ने भएकाले कम्तिमा दुई अंक जोड्न सके रियल मड्रिडले सन् २०१२ यता दोस्रो पटक उपाधि उचाल्ने छ ।

रियल मड्रिडको ३६ खेलबाट ८३ तथा बार्सिलोनाको ७९ अंक रहेको छ । रियल मड्रिडसँग पराजित भएको ग्रानाडा ५० अंकसहित १० औँ स्थानमा छ ।

ला लिगा अन्तर्गत सोमबार राति भएका अरु खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले पराजित गर्दा गेटाफे र एलाभेसले गोलरहित बराबरी खेलेका छन् ।

Loading...