काठमाडौँ, २२ असार । प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा गराउने दौडमा लागेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निगरानी गर्न सुरक्षाकर्मी परिचालन गरेको खुलेको छ ।
नेता नेपालको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो । पछिल्लो समय पाटीभित्र विवाद बढ्दै गएको छ । पाटीभित्रको शक्ति संघर्ष चलिरहेका बेला पार्टीका नेता नेपालमाथि सरकारले थप निगरानी बढाएको भन्दै त्यसको विरोध हुन थालेको छ।
नेता नेपालसहित पार्टीका अधिकांश नेताहरुले अहिले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मालाई दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाइरहेका छन । यहीबेला नेता नेपालको कोटेश्वरस्थित निवास आसपासमा सुरक्षाकर्मीले निगरानी बढाएको बताइएको छ ।
नेपालको सचिवालयमा रहेका एक व्यक्तिले सरकारको निर्देशनमै नेपाल निवास वरपर सिभिल तथा ड्रेसमा थप सुरक्षाकर्मी थपिएको बताए। ती व्यक्तिले भने, ‘उहाँमाथि पछिल्लो समय थप निगरानी गरिएको अनुभव हामीले गरेका छौं। उहाँका गतिविधि माथि बढी चासो व्यक्त भइरहेको छ।’
सुरक्षा निकायले परिस्थितिको मूल्यांकन गरेर तीन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको घरमा थप सुरक्षाकर्मी पठाउने तयारी गरे पनि अहिले आवश्यक नभएको भन्दै फिर्ता गरिएको दाबी गरेको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पनि सुरक्षा थ्रेट बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।