एकै दिन ५८६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे ७१७७

काठमाडौं, ३ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या सात हजार १ सय ७७ पुगेकाे छ । त्यसमध्ये ५८६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएकाे छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनकाे असार १ गते स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो । परिक्षण रिपोर्ट नआउँदै उनकाे त्यही दिन साँझ मृत्यु भएकाे थियाे । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

पछिल्लाे २४ घन्टामा सबैभन्दा धेरै संक्रमित महाेत्तरी जिल्लामा थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । महाेत्तरीमा एकैदिन २०० जना संक्रमित थपिएका हुन । त्यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...