बर्दघाटमा गाडी दुर्घटनामा परी गाउँपालिकाका अध्यक्षको मृत्यु

काठमाडौं । विपत व्यवस्थापन समितिको बैठकका लागि भनेर गएका एक गाउँपालिकाका अध्यक्षको दुर्घटनामा परेर निधन भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएको हो।

अध्यक्ष शर्माको आइतबार बिहान नवलपरासीको बर्दघाटमा भएको लु १ झ ३७० नम्बरको सवारी दुर्घटनामा निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए। उक्त गाडी गाउँपालिकाको आफ्नै गाडी भएको बुझिएको छ । प्रहरीले प्रारम्भिक अध्ययनबाट उक्त गाडीको गति बढी भएको र अनियन्त्रित भई बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको बुझिएको जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका अध्यक्ष शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । अध्यक्ष शर्मा गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन त्यसतर्फ गएका थिए । तर, बाटोमा नै उनको गाडी दुर्घटनामा परेको हो । 

‘सो सवारीसाधन अनियन्त्रित भई सडकबाट तल खसेको देखिन्छ’, एसपी केसीले भने, ‘दुर्धटनामा गम्भीर घाइते हुनुभएका शर्माको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।’

सो दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएको प्रहरीले जनाएको छ।

Loading...