प्रहरीको गोलीले फेरि एक अश्वेत नागरिकको ज्यान गएपछि प्रहरी प्रमुखले दिए राजिनामा

एजेन्सी । अमेरिकामा प्रहरीको गोली लागेर फेरि एक अश्वेत नागरिकको ज्यान गएको छ । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् ।

२७ वर्षका रेशर्ड ब्रूक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली ब्रूक्सलाई लागेको स्थानीय अधिकारीको दाबी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएका एट्लान्टाकी मेयर किशा लान्स बटम्सले बताएकी छन् ।

प्रहरी प्रमुख एरिकाले शनिबार राजीनामा बुझाएकी हुन् । ब्रूक्सको मृत्युका दोषीलाई कारवाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ । अमेरिकाभर यसअघि नै जर्ज फ्लोइडको मृत्युलाई लिएर प्रहरी ज्यादती तथा रंगभेद विरुद्ध प्रदर्शनमा छन् ।

एरिका सनन् २०१६ को डिसेम्बरदेखि एट्लान्टाको प्रहरी प्रमुखका रुपमा कार्यरत थिइन् । उनले एट्लान्टा प्रहरीमा विगत २० वर्षदेखि काम गर्दै आएकी हुन् । प्रहरी प्रमुखबाट राजीनामा दिए पनि उनी प्रहरीमा अर्को कुनै जिम्मेवारीमा कार्यरत रहने मेयर बटम्सले बताएकी छन् ।

प्रहरी प्रशासनमा सुधारको मार्ग प्रशस्त गरेर उदाहरण प्रस्तुत गर्नका लागि एरिकाले प्रहरी प्रमुखबाट राजीनामा दिएको मेयर बटम्सको भनाई छ । ब्रूक्सको निधनमा कारक रहेका प्रहरी अधिकारीलाई बर्खास्त गरिएको पनि मेयरले बताएकी छन् ।

स्थानीय रेस्टुरेन्टको अगाडि कारमा ब्रूक्स निदाउँदा बाटो नै बन्द भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो । ब्रेथलाइजर टेस्टमा असफल भएपछि उनलाई प्रहरीले पक्रिन खोजेको थियो ।

तर ब्रूक्सले त्यसको विरोध गरेपछि तनावको अवस्था सिर्जना भएको र अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाउँदा उनी घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो ।

Loading...