विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ – प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने स्पष्ट पारेका छन् । सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गर्ने उनले बताए ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग यस विषयमा गम्भीर संवाद गरेको बताए । नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न आफुलेको आग्रहमा उनीहरुले निश्चिन्त रहन आश्वस्त पारेको उनले बताए ।

समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उनले भने– ‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

‘हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन ।’ उनले भने, ‘कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरुलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले घर फर्किएका सबैलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गरे ।

अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्ने भन्दै उनले यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गरे ।

Loading...