कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ– प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको भन्दै नेपाल र नेपालीले यसलाई पराजित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा सरकारले लिएका कदमहरु सफल भएका बताए ।

लकडाउनले जीवनलाई असहज बनाएपनि साथमा यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित व्यक्ति पत्ता लगाउन मद्दत पुर्याएको बताए ।

समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरू बन्द गर्ने निर्णय र समयमै तय गरिएको अस्पताल सेवा सञ्चालन कार्यविधिको तर्जुमा र कार्यान्वयन लगायतका कदमहरूले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको उनको भनाइ छ ।

यसबीचमा २ महिनाका शिशुदेखि ८१ वर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई सरकारको उपलब्धिका रूपमा लिइनुपर्ने उनले जिकिर गरे ।

दक्षिण एसियाका कतिपय मुलुकहरूको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी रहेको भन्दै उनले ढुक्क भएर बस्ने स्थिति भने नरहेको बताए । कोरोना विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत रहेको उनले स्पष्ट पारे ।

Loading...