काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।
मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।
धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।
आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ती नै जारी गरी त्रुटी भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।