लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ ।

लुकीछिपी मानिस भित्रिने गरेको भन्ने सूचना आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उपत्यका भित्रिने विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ ।

काठमाडौँ बाहिरबाट उपत्यकाभित्र धमाधम मानिस लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमन गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताउनुभयो । उहाँले त्यसरी लुकेर भने मानिस नआएको पाइएको बताउनुभयो ।

ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकामा खटिएका सुरक्षाकर्मीलाई नाकामा थप कडाइ गर्न निर्देशनसमेत दिनुभयो । महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिनसमेत उहाँले सर्वसाधारणाई आग्रह गर्नुभएको छ । सरकारले कोभिड १९ को रोकथामका लागि लकडाउनको आदेश जारी गरेको छ । यस अवधिमा आजसम्म कूल १९ जनामा कोभिड १९ देखिइसकेको छ ।

सर्ने क्रम जारी रहेकाले थप सावधानी अपनाउन र आवतजावत रोक्नुपर्ने आवश्यकता छ । त्यसैले लकडाउनलाई कडाइ गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी दाहालले बताउनुभयो । अहिले प्रहरीले अत्यावश्यक सामान बोकेका सवारी र स्वास्थ्य उपचारसँग सम्बन्धित गाडीलाई मात्रै उपत्यका भित्रिन दिएको छ ।रासस

Loading...