लकडाउन जेठ ५ सम्म लम्बियो, सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द रहने

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।

यस्तै, सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यस्तै सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

 

Loading...