कोरोनाबाट इटालीमा भन्दा बेलायतमा मृत्यु हुनेको संख्या धेरै

काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो ।

जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या २९ हजार ३१५ रहेको छ ।

चीनपछि सबैभन्दा खराब रुपमा इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समय इटालीमा संक्रमण तथा मृत्युदर नियन्त्रणमा आउने क्रममा छ । महामारीको उच्च तह पार गरेको बेलायतमा भने अझै पनि संक्रमण र मृत्युदर तुलनात्मक रुपमा बढी रहेको छ ।

स्पेनमा अहिलेसम्म कोभिड–१९ बाट २५ हजार ६१३ तथा फ्रान्समा २५ हजार ५३७ जनाको ज्यान गएको छ।

विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ७१ हजार भन्दा बढीको मृत्यु भइरसकेको छ । अझै पनि अमेरिकामा दैनिक एक हजार भन्दा बढीको मृत्यु भएको छ भने २० हजार भन्दा बढी संक्रमित थपिने क्रम जारी छ ।

Loading...