लामो रस्साकस्सीपछि अन्ततः पार्टीको बैठक बोलाउन राजी भए ओली

काठमाडौँ । पार्टीका नेताहरुले दवाव दिएपछि अन्ततः सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालयको बैठक बोलाउन राजी भएका छन् । यसअघि उनले बैठक बसाउन इन्कार गर्दै आएका थिए । लामो रस्साकस्सी र केही चरणका छुट्टाछुट्टै छलफलपछि ओली बैठकमा बस्न तयार भएका हुन् ।

नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।

ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए। योसँगै बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको पनि मिति तय गर्ने अपेक्षा गरिएको छ।

Loading...