र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।

उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो,’ उनले भने, ‘पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं ।’

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गर्‍यो ।

Loading...