‘कोरोना संक्रमित भेटिएको’ फेसबुक स्टाटस लेख्ने मानिसहरु पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा कोरोना सम्बन्धी गलत स्टाटस लेख्ने २ युवक पक्राउ परेका छन् । फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दाङ र सुर्खेतका गरी दुइ युवक पक्राउ परेका हुन् ।

घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको बताइएको छ । दिपकले फेसबुक स्टाटसमा ‘दाङमा पनि कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको’ भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरेको प्रहरीको भनाइ छ । जनमानसमा डर फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मंगलबार नै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्य पनि सोही आरोपमा पक्राउ परेका छन् । धर्मराजले फेसबुक स्टाटसमा ‘सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको’ भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Loading...