अमेरिकामा कोरोनाले मृत्यु हुने र निको हुने दर अरु देशभन्दा निकै बढी

काठमाडाैं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ।

नेपाली समय सोमबार बिहान ७ बजे (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमितको संख्या पनि संसारका सबै राष्ट्रमा भन्दा अत्यन्तै उच्च ५ लाख ६० हजार ४ सय ३५ पुगिसकेको छ।

विश्वभर कोरोनाका कारण जति संख्यामा मानिसको मृत्यु भएको छ, उपचारपछि निको हुने बिरामीको संख्या त्यसभन्दा निकै धेरै छ। अर्थात् मृत्युको तुलनामा निको हुनेको संख्या चार गुणै बढी छ।

यो खबर लेख्दासम्म विश्वमा कोरोनाका कारण १ लाख १४ हजार २ सय ८ जनाको मृत्यु भएको छ भने यसबाट संक्रमितमध्ये ४ लाख २३ हजार ४ सय मानिस उपचारपछि स्वस्थ भएका छन्।

तर अमेरिकामा कोरोनाका कारण मृत्यु हुने र उपचारपछि स्वस्थ हुनेबीचकाे अनुपात धेरै अन्तर देखिँदैन।

त्यहाँ कोरोनाबाट २२ हजार १ सय ५ जनाको मृत्यु हुँदा उपचारपछि निको हुने मानिसको संख्या ३२ हजार ६ सय ३४ मात्रै छ। यसले अमेरिकामा मृत्यु दर अत्यन्तै डरलाग्दो देखिन्छ।

Loading...