कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक, न्यूयोर्कमा मात्रै सात हजार बढीको मृत्यु

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो ।

भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १६ हजार पाँच सय १३ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय २८ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १६ लाखको हाराहारीमा पुगेको छ । अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर १५ लाख ९६ हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ५२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै स्पेनमा संक्रमित संख्या एक लाख ५३ हजार नाघेको छ भने इटालीमा यो संख्या एक लाख ४३ हजार नाघेको छ ।

अहिलेसम्म विश्वभर तीन लाख ५४ हजार संक्रमित निको भइसकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ ।

न्यूयोर्क सहरमा मात्रै सात हजारको मृत्यु

अमेरिकाको न्युयोर्क राज्यमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या सात हजार नाघेको छ । बीबीसीका अनुसार बिहीबार मात्र न्युयोर्कमा सात सय ९९ जनाको मृत्यु भएको थियो । यससँगै न्युयोर्कमा मृत्यु हुने मानिसको संख्या सात हजार ६७ पुगेको छ । मृत्यु हुने मानिसको यो संख्या चीनको तुलनामा दोब्बरभन्दा बढी हो ।

बिहीबार मात्र न्युयोर्कमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । यससँगै न्युयोर्कमा समग्र संक्रमितको संख्या एक लाख ६० हजारको हाराहारीमा पुगेको छ ।

यो संख्या विश्वको दोस्रो धेरै संक्रमित भएको मुलुक स्पेनको भन्दा बढी हो । स्पेनमा अहिलेसम्म एक लाख ५३ हजार संक्रमित पुष्टि भएका छन् भने इटालीमा यो संख्या एक लाख ४३ हजार छ । सन् २०१९ को अन्तिममा पहिलो पटक यो भाइरस देखिएको चीनमा भने संक्रमितको संख्या ८२ हजार वरपर मात्र छ ।

न्युयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले भने न्युयोर्कमा कोभिड–१९ को कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या घटेको दावी गरेका छन् । न्युयोर्कमा सामाजिक दूरी कायम राख्न सरकारले दिएको निर्देशनको कारण अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको उनको भनाइ छ ।

यसैबीच अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउचीले बिहीबार यो महामारीको कारण अमेरिकामा ६० हजार मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।

यसअघि मार्चको अन्तिममा उनले अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या एक लाखदेखि दुई लाखको बीचमा रहने बताएका थिए ।

Loading...