कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा. खतिवडाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी समाचार व्यवस्थित र प्रभावकारीरुपमा सम्प्रेषित भएमा जनताले सही सूचना पाउने र कुनै त्रासको वातावरण नहुने बताए ।

विशेष परिस्थितिमा छिनछिनमा निर्णय र ताजा सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले आफ्ना उपकरण र साधनलाई तन्दुरुस्त राखी जनशक्तिलाई सक्रियताका साथ परिचालन गरी जनतालाई सूचना प्रवाहमा कुनै कमी हुन नदिन उनले निर्देशन दिए । उनले ती निकायको कामसँग सम्बन्धित कुनै निर्णय गर्नुपर्ने भएमा आफूले उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लाने अवगत गराए ।

सरकारका प्रवक्ता डा. खतिवडाले भने, “सामाजिक सञ्जालको दुरुपयोग गरी नभएको समस्यालाई देखाएर वातावरण त्रसित तुल्याउन खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने काम भइरहेको छ । हाम्रा सार्वजनिक सञ्चारमाध्यम र सबै सञ्चारमाध्यमले समयमा सही सूचना दिएमा अफवाह फैलाउने निरुत्साहित हुनेछन् ।”

उनले शिक्षालय बिदा नभएकाले बालबालिका र विद्यार्थीलाई घरमा बसेर इन्टरनेटबाट पढ्नुपर्ने भएकाले त्यसको सहज प्रबन्धका लागि पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । अर्थमन्त्री डा. खतिवडाले विषयविज्ञको छनोट सही ज्ञान र सूचना दिने सामाजिक जिम्मेवारी बोकेकालाई गर्नुपर्छ भन्दै भएको विषयवस्तुलाई बढाइचढाई वा अनावश्यक अनुमान गरेर आतङ्कित पार्ने काम विज्ञको हुन नहुनेमा जोड दिए ।

छलफलमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख, सञ्चार सेवा प्रदायक संस्था र सञ्चार क्षेत्रको नियमनकारी निकायका प्रमुखले हाल कोभिड–१९ रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारी निर्णय र त्यसको कार्यान्वयनमा आफ्ना संस्थाबाट भइरहेका पहलबारे जानकारी दिएका थिए ।

Loading...