उपत्यका बाहेक अरु ठाउँमा भोली देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ, ९ चैत । सरकारले भोली देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । तर काठमाडौं उपत्यका काठमाण्डौ, ललितपुर र भक्तपुर-भित्र गाडी ओहोर दोहार चल्ने छ ।

विभागका महानिर्देशक गोगन हमालका अनुसार काठमाण्डौबाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताए । उनले भने ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’

महानिर्देशक हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उनले बताए । यसबारेमा आइतबार ४ बजे बैठक बसेर थप स्पष्ट पारिने बताइएको छ ।

Loading...