काठमाडौं, १३ फागुन । काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङको मृत्यु भएको हो । उपचारका लागि अस्पताल लैजाने क्रममा तामाङको बाटोमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट थप उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।