शिक्षामन्त्रीले दिए सीटीईभीटीलाई निर्देशन

काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी लाई निर्देशन दिएका छन्।

सीटीईभीटीको ३२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन्।

सीटीईभीटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिएका हुन। सीटीईभीटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए। सीटीईभीटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसमा आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

अबको २५ वर्षमा आईसीटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पोखरेलले रैथाने सीप र आधुनिक सीपलाई सँगै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। सीटीईभीटी उच्चस्तरीय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सधैँ सीएमए र अनमी उत्पादन गर्न नसकिने बताए।

सीटीईभीटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका थिए।

Loading...