कोरोना संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोक

काठमाडौं, ११ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस को संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ । नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ।

शाखाका निर्देशक कृष्ण खनालका अनुसार अघिल्लो साता करिब २ दर्जन नेपाली कामदार कोरिया लैजाने तालिका भए पनि उनीहरुको उडान रोकिएको थियो ।  आगामी फागुन १८ गते पठाउने कार्यसूची भएका कामदारलाई पनि पठाउन नसकिने अवस्था आएको उनले बताए। कोरियास्थित नेपाली दूतावासले उडान नगर्न आग्रह गरेपछि उडान रोकिएको उनले बताए।

यसैबीच, नेपाली कोरियास्थित दूतावासले आइतबार एक सूचना जारी गर्दै भाइरसको संक्रमणबाट बँच्न सजग रहन नेपालीहरुलाई आग्रह गरेको  छ । कोभिड-१९ को संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको छ । एकै दिनमा संक्रमित हुनेको संख्या दोब्बर वृद्धि भएको छ।

संक्रमित हुनेको संख्या पाँच सय ५६ पुगेको छ।दूतावासका अनुसार अवैधानिक रुपमा बसोबास गरेकालाई कोराना भाइरसको शंका लागेमा स्वास्थ्य परीक्षण गर्न कोरिया सरकारले पक्राउ नगर्ने भएको छ। साथै, भिसा सकिएकालाई ५० दिनको अतिरिक्त भिसा थपिदिने भएको छ।

कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरु अबलम्बन गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ। रोजगार अनुमति प्रणालीमार्फत कामका लागि ४० हजार बढी युवा कोरियामा कार्यरत छन्। अध्ययन र व्यवसाय गर्नेहरु समेत कोरियामा नेपाली छन्।

Loading...