तनहुँ ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ४३ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार ४३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ ।